नेपाल फर्किने अघिल्लो दिन नर्वेको आल्भेर (Alver) मा एक नेपाली कामदारको समुद्रमा डुबेर मृत्यु भएको छ। नेपालमा रहेकी श्रीमतीले सामाजिक सञ्जालबाट अचानक मृत्युको खबर थाहा नपाऊन् भनेर उनी बसेको गाउँसम्म टोली पठाइएको रोजगारदाताले बताएका छन्। त्यहाँ पुग्न गाडीमा आठ घण्टा यात्रा गर्नुपरेको थियो।

Bergensavisen, BA ले प्रकाशित गरेको रिपोर्टअनुसार, मृत्यु भएका व्यक्ति ३० देखि ३९ वर्ष उमेर समूहका नेपाली पुरुष हुन्। उनी पदमार्ग तथा ढुङ्गाका सिँढी निर्माणको कामका लागि आइकाङ्गेरभोग (Eikangervåg) को सोरहोल्मेन (Sørholmen) मा बस्दै आएका थिए।

नेपालमा उनकी श्रीमती र दुई सन्तान छन्।

उद्धारपछि एयर एम्बुलेन्सबाट अस्पताल

अक्टोबर २ को बिहान करिब १० बजे सोरहोल्मेनमा उद्धार कार्य सुरु भएको थियो। डुङ्गामा गएका दुई व्यक्तिले उनलाई समुद्रबाट निकालेर किनारमा ल्याएका थिए।

त्यसपछि उनलाई एयर एम्बुलेन्समार्फत हाउकेलान अस्पताल (Haukeland sykehus) पुर्‍याइएको थियो। अस्पतालमा केही समयपछि उनको मृत्यु भएको पुष्टि भयो।

घटनाबारे अनुसन्धान गरिरहेका प्रहरीका कानुनी अधिकारी ले BA लाई बताएअनुसार, मृत्युको कारण सम्भवतः डुब्नु हो। प्रहरीले घटनालाई दुर्घटना भएको ठानेको छ। तर उनी कसरी समुद्रमा पुगे भन्ने पूर्ण रूपमा खुलेको छैन।

सामाजिक सञ्जालभन्दा पहिले परिवारसम्म खबर

पदमार्ग निर्माण र ढुङ्गाको काम गर्ने कम्पनी Stibyggjaren AS का प्रबन्ध निर्देशक याइर भेट्टी (Geirr Vetti) का अनुसार, मृतकका दुई दाजुभाइ पनि भेस्तलान (Vestland) को अर्को स्थानमा पदमार्ग निर्माणकै काम गरिरहेका थिए।

भाइ दुर्घटनामा परेको खबर पाएपछि उनीहरू तत्कालै उनी भएको ठाउँतर्फ लागेका थिए। त्यही समयमा नेपालमा रहेका परिवारलाई पनि संवेदनशील र सम्मानजनक ढङ्गले खबर पुर्‍याउने व्यवस्था गरिएको थियो।

भेट्टीका अनुसार, मृतककी श्रीमती र परिवार काठमाडौँबाट धेरै घण्टा टाढा, हिमालयनजिकको पहाडी गाउँमा बस्छन्। श्रीमतीले सामाजिक सञ्जालबाट मृत्युको खबर थाहा नपाऊन् भनेर उनको गाउँमा टोली पठाइएको थियो। त्यहाँ पुग्न आठ घण्टा गाडी यात्रा गर्नुपरेको उनले बताएका छन्।

घटनाले आफूहरू स्तब्ध भएको र यसअघि यस्तो परिस्थिति सामना गर्नुनपरेको भेट्टीले बताएका छन्।

बिहान ओछ्यानमा नदेखिएपछि खोजी

अक्टोबर २ को बिहान सँगै काम गर्ने अन्य सहकर्मीहरूले उनलाई ओछ्यानमा नदेखेपछि खोजी सुरु गरेका थिए। रोजगारदाताका अनुसार, उनी अघिल्लो साँझ वा राति बाहिर निस्किएको हुन सक्ने अनुमान छ।

सहकर्मीहरूले टापुमा पटकपटक खोजेका थिए। त्यसपछि पानीतर्फ खोजी बढाइएको र आपत्कालीन सेवाहरूको उपस्थितिमा उद्धार कार्य अघि बढाइएको थियो।

प्रहरीले घटनाबारे केही सम्भावित परिस्थितिको अध्ययन गरिरहेको बताए पनि वास्तवमा के भएको थियो भन्ने स्पष्ट भइसकेको छैन। रोजगारदाताले पनि दुर्घटनाको कारणबारे अड्कलबाजी गर्न नचाहेको बताएका छन्।

भोलिपल्टै नेपाल फर्किने तयारी थियो

उनी अक्टोबर ३ मा आफ्ना दुई दाजुभाइसँगै नेपाल फर्किने योजनामा थिए। रोजगारदाताका अनुसार, उनी घर जान निकै उत्साहित थिए।

तर निर्धारित यात्राको अघिल्लो दिन उनको मृत्यु भयो। दाजुभाइले हाउकेलान अस्पतालमा उनको अन्तिम दर्शन गरेपछि उनीबिना नेपाल फर्किनुपर्‍यो।

मृतक उक्त कम्पनीमा काम गर्न थालेको दसौँ वर्षमा थिए। उनको मृत्युले सँगै काम गरिरहेका सहकर्मीहरूलाई पनि गहिरो असर पारेको रोजगारदाताले बताएका छन्।

सँगै बिताएका समयका सम्झनाले त्यही ठाउँमा बसेर काम गर्न कठिन भएको भन्दै सहकर्मीहरूले अर्को स्थानमा सारिदिन अनुरोध गरेका थिए। कम्पनीले उनीहरूको अनुरोधअनुसार काम गर्ने ठाउँ परिवर्तन गरिदिएको थियो।

BA को उक्त रिपोर्टमा मृतकको नाम र नेपालस्थित गाउँको नाम खुलाइएको छैन।