नर्वेमा मोबाइल नेटवर्क र इन्टरनेटले काम नगरेको अवस्थामा सरकारी सूचना कहाँबाट लिने भन्ने धेरैलाई थाहा नभएको पाइएको छ। सार्वजनिक सुरक्षा तथा आपतकालीन तयारी निर्देशनालय (DSB) ले गरेको सर्वेक्षणअनुसार, संकटका बेला आफ्नो कोमुनेबाट सूचना लिन कहाँ उपस्थित हुने भन्ने केवल १० जनामध्ये ३ जनालाई मात्र थाहा छ।
यसै विषयमा जनचेतना बढाउन सोमबार २६ अक्टोबरदेखि नर्वेभरि आफ्नै तहमा आपतकालीन तयारी गर्ने सप्ताह (Egenberedskapsuka) सुरु भएको छ। यो अभियान १ नोभेम्बरसम्म चल्नेछ।
अधिकारीहरूका अनुसार अत्यधिक खराब मौसम, ठूलो दुर्घटना, प्राविधिक समस्या, साइबर आक्रमण, तोडफोड वा युद्धका कारण मोबाइल र इन्टरनेट सेवा केही समयका लागि मात्र होइन, लामो अवधिसम्म पनि बन्द हुन सक्छ। यस्तो अवस्थामा डिजिटल माध्यमबाट सूचना प्राप्त गर्ने, परिवारसँग सम्पर्क गर्ने, भुक्तानी गर्ने र आवश्यक सेवासँग जोडिने दैनिक प्रणाली पूर्ण रूपमा प्रभावित हुन सक्छ। त्यसैले यस वर्ष बिजुली र सञ्चार सञ्जालले काम नगर्दा के गर्ने भन्ने विषयमा विशेष ध्यान दिइएको छ।
डिजिटल सेवा बन्द भएको अवस्थामा सरकारले कोमुनेहरूलाई नागरिकले प्रत्यक्ष उपस्थित भएर सूचना र आवश्यक सहयोग लिन सक्ने निश्चित सूचना केन्द्र (informasjonspunkt) स्थापना गर्न आग्रह गरेको छ। DSB को निर्देशिकाअनुसार कोमुनेहरूले आफ्नो आकार र भूगोलअनुसार यस्ता केन्द्रहरू तय गर्छन्।
इन्टरनेट बन्द भइसकेपछि अनलाइन खोज्न नसकिने भएकाले आफ्नो कोमुनेको सूचना केन्द्र कहाँ छ भनी पहिल्यै पत्ता लगाएर ठेगाना कागजमा लेखेर राख्न सुझाइएको छ।
नर्वेका अधिकारीहरूले संकटका बेला कम्तीमा एक हप्तासम्म आफ्नो आधारभूत आवश्यकता आफैँ व्यवस्थापन गर्न सक्ने तयारी गर्न सिफारिस गरेका छन्।
न्याय तथा आपतकालीन तयारी मन्त्री Astri Aas-Hansen ले आपतकालीन भण्डार एकैपटक पूर्ण बनाउन आवश्यक नभएको बताउँदै, प्रत्येक व्यक्तिका लागि करिब २० लिटर पिउने पानी राख्न र बिजुली गएमा न्यानो कसरी रहने भन्ने योजना बनाउन सिफारिस गरेकी छन्। यसबाट आपतकालीन सेवाले तत्काल सहायता आवश्यक पर्ने मानिसलाई प्राथमिकता दिन सक्छन्।
यसका साथै, सरकारले प्रत्येक व्यक्तिलाई संकटका बेला एकअर्कालाई सहयोग गर्ने सहयोगी व्यक्ति (beredskapsvenn) बनाउन पनि आग्रह गरेको छ। खाना र अन्य सामग्री कसरी बाँड्ने तथा फोन सम्पर्क हुन नसकेमा कहाँ भेट्ने भन्ने कुरा पहिल्यै तय गर्नुपर्छ। ज्येष्ठ नागरिक, स्वास्थ्य समस्या भएका व्यक्ति वा अपाङ्गता भएकाहरूका लागि यस्तो आपसी योजना अझ महत्त्वपूर्ण हुन्छ।
यो सप्ताहभर देशभरका कोमुने, आपतकालीन सेवा, नागरिक सुरक्षा निकाय (Sivilforsvaret) र अन्य स्वयंसेवी संस्थाले विभिन्न अभ्यास सञ्चालन गर्नेछन्।
अभियानको मुख्य उद्देश्य नागरिकलाई मुख्यतः तीन काम गर्न प्रेरित गर्नु हो: आफ्नो कोमुनेमा संकटका बेला कहाँ जाने भन्ने थाहा राख्ने, सहयोग गर्न सक्ने व्यक्तिसँग पहिल्यै योजना बनाउने, र घरको आपतकालीन सामग्री जाँच गरी अद्यावधिक गर्ने।
अभियानको उद्देश्य नागरिकलाई त्रसित बनाउनु नभई सामान्य सञ्चार प्रणालीले काम नगरेको अवस्थामा पनि सही सूचना प्राप्त गर्न र आधारभूत आवश्यकता पूरा गर्न सक्ने बनाउनु हो।
DSB: मोबाइल र इन्टरनेट नचल्दा प्रयोग गरिने कोमुने सूचना केन्द्रसम्बन्धी निर्देशिका
