स्नातक तह सकेर विदेशमा थप अध्ययन गर्ने सोचमा हुनुहुन्छ भने, 'इरास्मस मुन्डस' (Erasmus Mundus) अन्तर्गत युरोपका विभिन्न देशका विश्वविद्यालयहरूमा स्नातकोत्तर (मास्टर्स) अध्ययन गर्ने र पूर्ण छात्रवृत्ति प्राप्त गर्ने सुनौलो अवसर हुन सक्छ। यसका लागि नेपालमै बसेर पनि सम्बन्धित कार्यक्रममा सीधै आवेदन दिन सकिन्छ ।
धेरैजसो कार्यक्रमहरूले आगामी शैक्षिक वर्षका लागि अक्टोबरदेखि जनवरी महिनाको बीचमा आवेदन खुला गर्छन्। त्यसैले सन् २०२७ मा पढाइ सुरु गर्न चाहने विद्यार्थीहरूले अहिलेदेखि नै उपयुक्त कार्यक्रम खोज्ने र आवश्यक कागजातहरू तयार गर्ने काम थाल्नु उपयुक्त हुन्छ। यद्यपि, सबै कार्यक्रमको आवेदन खुल्ने मिति र अन्तिम म्याद एउटै हुँदैन भन्ने कुरामा ध्यान दिनुपर्छ ।
Erasmus Mundus भनेको के हो?
'इरास्मस मुन्डस जोइन्ट मास्टर्स' (Erasmus Mundus Joint Masters) विभिन्न देशका विश्वविद्यालयहरू मिलेर संयुक्त रूपमा सञ्चालन गर्ने स्नातकोत्तर कार्यक्रम हो। सामान्यतया यसको अध्ययन अवधि एकदेखि दुई शैक्षिक वर्षको हुन्छ। कार्यक्रम सफलतापूर्वक पूरा गरेपछि विद्यार्थीले संयुक्त उपाधि (Joint Degree) वा सहभागी विश्वविद्यालयहरूबाट एकभन्दा बढी उपाधि (Multiple Degrees) प्राप्त गर्न सक्छन् ।
यस कार्यक्रममा एउटै विश्वविद्यालयमा पूरै समय बिताउने भन्दा नितान्त फरक अनुभव प्राप्त हुन्छ। छनोट भएको कार्यक्रमअनुसार विद्यार्थीले दुई वा सोभन्दा बढी देशका फरक-फरक विश्वविद्यालयहरूमा गएर अध्ययन गर्नुपर्ने हुन्छ।
त्यसैले विषय रोज्दा 'के पढ्ने' मात्र नभई 'कहाँ-कहाँ गएर पढ्ने' भन्ने विषयमा पनि पूर्वजानकारी लिनु महत्त्वपूर्ण हुन्छ।
नेपालबाट कसले आवेदन दिन सक्छ?
यो अवसर विश्वभरका सम्पूर्ण विद्यार्थीहरूका लागि खुला छ। नेपालमा बसिरहेका नेपाली विद्यार्थीहरूले पनि सम्बन्धित कार्यक्रमले तोकेको योग्यता पूरा गरेको खण्डमा आवेदन दिन सक्छन्। यसका लागि युरोपमा पहिल्यै बसिरहेको वा अध्ययन गरिरहेको हुनुपर्छ भन्ने कुनै बाध्यकारी नियम छैन ।यसका आधारभूत योग्यताहरू निम्न छन्:
- मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह पूरा गरेको हुनुपर्छ, वा
- स्नातक तहको अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीहरूले स्नातकोत्तर तह सुरु हुनुअघि आफ्नो स्नातक तहको अध्ययन पूरा गर्ने सुनिश्चिततासहित आवेदन दिन सक्छन् ।
यद्यपि, स्नातक तह उत्तीर्ण गरेको भरमै सबै कार्यक्रमहरूमा आवेदन दिन पाइन्छ भन्ने हुँदैन। तपाईंले अध्ययन गरेको विषय, प्राप्त गरेको अंक र भाषासम्बन्धी योग्यता तपाईंले रोजेको कार्यक्रमको सर्तसँग मेल खानुपर्छ। यी विस्तृत विवरणहरू प्रत्येक कार्यक्रमको आफ्नै वेबसाइटमा छुट्टाछुट्टै राखिएका हुन्छन्।
तपाईंको तीन वर्षे वा चार वर्षे स्नातक तहको अध्ययनलाई मान्यता दिइन्छ वा दिइँदैन भन्ने कुरा आफूले रोजेको कार्यक्रमको वेबसाइटमै गएर जाँच्नुपर्छ। उदाहरणका लागि, 'Mundus MAPP' कार्यक्रमले मान्यता प्राप्त संस्थाबाट कम्तीमा तीन वर्षे स्नातक तह पूरा गरेको हुनुपर्ने माग गर्छ, तर विषय र प्राप्तांकका लागि थप सर्तहरू पनि राखेको छ।
यो नियम सबै Erasmus Mundus कार्यक्रमहरूमा लागू हुने साझा नियम भने होइन ।
छात्रवृत्तिले के-कस्ता खर्चहरू समेट्छ?
उत्कृष्ट अंक र प्रोफाइलका साथ छनोट भएका विद्यार्थीहरूले पूर्ण छात्रवृत्ति प्राप्त गर्न सक्छन्। आधिकारिक जानकारी अनुसार, यस छात्रवृत्तिले अध्ययन कार्यक्रमको सम्पूर्ण शिक्षण शुल्क समेट्नुका साथै यात्रा, भिसा प्रक्रिया र जीवनयापनका लागि आवश्यक खर्चमा समेत सहयोग उपलब्ध गराउँछ ।
तर भर्ना पाउनु र छात्रवृत्ति पाउनु दुई फरक कुरा हुन्। छात्रवृत्तिसहित र छात्रवृत्तिबिना आवेदन दिने प्रक्रियाबारे सम्बन्धित कार्यक्रमकै वेबसाइटमा प्रस्ट पारिएको हुन्छ।
आफूले पाउने आर्थिक सहयोग र आफैँले तिर्नुपर्ने खर्चबारे स्पष्ट रूपमा नबुझी कुनै पनि निर्णय नगर्नुहोला।
आवेदन प्रक्रिया कहाँबाट र कसरी सुरु गर्ने?
आधिकारिक सूचीमा आफ्नो विषय खोज्नुहोस्
सबैभन्दा पहिले Erasmus Mundus को आधिकारिक सूची खोल्नुहोस्। त्यहाँ आफ्नो अघिल्लो अध्ययन र रुचिसँग मिल्दोजुल्दो कार्यक्रम खोजेर सम्बन्धित कार्यक्रमको आफ्नै वेबसाइटमा जानुहोस्। विद्यार्थीहरूले कुनै साझा पोर्टलमा नभई आफूले छानेको कार्यक्रम सञ्चालन गर्ने संस्था वा वेबसाइटमै सीधै आवेदन दिनुपर्ने हुन्छ।
सबै विषय वा कार्यक्रमका लागि एउटै साझा आवेदन फाराम हुँदैन। प्रत्येक कार्यक्रमको प्रवेश योग्यता, आवेदन दिने प्रक्रिया र छात्रवृत्तिसम्बन्धी निर्देशनहरू फरक हुने भएकाले छुट्टाछुट्टै अध्ययन गर्नुपर्छ ।
आवश्यक कागजातहरू तयार गर्नुहोस्
आवेदनका लागि चाहिने कागजातहरूको अन्तिम सूची सम्बन्धित कार्यक्रमकै वेबसाइटबाट लिनुपर्छ। उदाहरणका लागि, Mundus MAPP ले निम्न सामग्रीहरू माग गर्दछ:
- स्नातक तहको प्रमाणपत्र र विषयगत प्राप्तांक देखाउने अंकपत्र (Transcript)।
- आफ्नो शैक्षिक योग्यता र अनुभव समेटिएको अद्यावधिक व्यक्तिगत विवरण (CV)।
- आफूले उक्त कार्यक्रम किन पढ्न चाहेको हो भनी स्पष्ट पार्ने उद्देश्यपत्र (Statement of Purpose)।
- दुईवटा सिफारिसपत्र (Recommendation Letters)।
- अंग्रेजी भाषामा आफ्नो दक्षता प्रमाणित गर्ने कागजात।
नेपालबाट आवेदन दिने विद्यार्थीहरूले आफ्नो शैक्षिक प्रमाणपत्र कुन भाषामा छ र त्यसको आधिकारिक अंग्रेजी अनुवाद आवश्यक पर्छ वा पर्दैन भनेर जाँच्नुपर्छ। Mundus MAPP ले शैक्षिक कागजातहरूको आधिकारिक अंग्रेजी अनुवाद अनिवार्य रूपमा माग्छ।
अन्य कार्यक्रमहरूमा पनि यही नियम लागू हुन्छ भनेर अनुमान गर्नुको साटो उनीहरूकै आधिकारिक निर्देशनहरू पढ्नुपर्छ ।
के IELTS दिनैपर्छ?
यस विषयमा सबै कार्यक्रमहरूको एउटै नियम हुँदैन। कुन अंग्रेजी भाषा परीक्षा स्वीकार गरिन्छ, कति अंक आवश्यक पर्छ र उक्त परीक्षाबाट छुट पाइन्छ वा पाइँदैन भन्ने कुरा सम्बन्धित कार्यक्रमको वेबसाइटमै हेर्नुपर्छ ।
उदाहरणका लागि, Mundus MAPP ले 'IELTS Academic' मा कम्तीमा ७ अंक वा उसले मान्यता दिएका अन्य परीक्षाहरूको तोकिएको नतिजा माग गर्छ। भाषा परीक्षाबाट छुट पाउनका लागि पनि निश्चित सर्तहरू तोकिएका हुन्छन्। नेपालमा अंग्रेजी माध्यमबाटै पढेको प्रमाणपत्र हुँदैमा स्वतः IELTS वा अन्य भाषा परीक्षाबाट छुट पाइन्छ भन्ने ग्यारेन्टी हुँदैन ।
त्यसैले भाषा परीक्षा बुक गर्नुअघि उक्त कार्यक्रमले कुन परीक्षा स्वीकार गर्छ, न्यूनतम कति अंक आवश्यक छ र नतिजा बुझाउने अन्तिम म्याद कहिले हो भन्ने कुरा राम्ररी जाँच्नुहोस्।
सिफारिसपत्र कसरी बुझाउने?
सिफारिसपत्र भनेको तपाईंको शैक्षिक पृष्ठभूमि वा कार्यसम्पादनबारे राम्रो जानकारी भएको व्यक्तिले तपाईंको योग्यता र क्षमताको बारेमा लेखिदिने पत्र हो। आफूले रोजेको कार्यक्रमले कस्तो व्यक्तिको सिफारिसपत्र स्वीकार गर्छ र त्यसलाई पठाउने तरिका के हो भन्ने कुरा वेबसाइटमा पढ्नुहोस्।
उदाहरणका लागिआवेदकले आफ्ना दुई जना सिफारिसकर्ताहरूको नाम र सम्पर्क विवरण फाराममा उल्लेख गर्नुपर्छ। त्यसपछि विश्वविद्यालयको प्रणालीले नै उनीहरूलाई सिफारिसपत्र अपलोड गर्नका लागि लिङ्क पठाउँछ। कम्तीमा एक जना सिफारिसकर्ता आफ्नो शैक्षिक क्षेत्रसँग सम्बन्धित प्राध्यापक हुनुलाई राम्रो मानिन्छ ।
आफूले आवेदन फाराम बुझाएपछि मात्रै सबै काम सकियो भनेर ढुक्क नहुनुहोस्। उक्त कार्यक्रमको नियमअनुसार सिफारिसकर्ताले तपाईंले आवेदन बुझाएको सात दिनभित्र आफ्नो पत्र अपलोड गरिसक्नुपर्छ। सिफारिसपत्र सफलतापूर्वक पुग्यो वा पुगेन भनेर आवेदक आफैँले पोर्टलमा गएर जाँच्न सक्छन्।
उद्दश्यपत्रमा के लेख्ने?
उद्देश्यपत्रलाई आफ्नो व्यक्तिगत कथा, लक्ष्य र रोजेको कार्यक्रमबीचको सम्बन्ध देखाउने उत्कृष्ट अवसरका रूपमा लिनुहोस्। यो लेख्न सुरु गर्नुअघि निम्न प्रश्नहरूको उत्तर तयार गर्नु उपयोगी हुन्छ:
- मेरो अघिल्लो पढाइ वा कार्य अनुभव यस कार्यक्रमको विषयसँग कसरी जोडिन्छ?
- मैले अन्य कार्यक्रम छाडेर यही कार्यक्रम किन रोजेको हुँ?
- यस अध्ययनबाट म कुन ज्ञान वा सीप हासिल गर्न चाहन्छु?
- पढाइ सकिएपछि प्राप्त ज्ञानलाई भविष्यमा कसरी प्रयोग गर्ने मेरो योजना छ?
कार्यक्रमले तोकेका निश्चित प्रश्नहरू र शब्दसीमाको भने अनिवार्य रूपमा पालना गर्नुहोस्। उदाहरणका लागि, Mundus MAPP ले बढीमा ५०० शब्दभित्र आवेदन दिनुको मुख्य कारण, अनुसन्धानप्रतिको रुचि, सम्बन्धित कार्य अनुभव र भविष्यको लक्ष्य खुलाउन निर्देशन दिन्छ।
साथै, उक्त कार्यक्रमले आवेदकको वास्तविक र व्यक्तिगत अभिव्यक्तिलाई बढी महत्त्व दिने कुरा पनि उल्लेख गरेको छ।
नर्वे वा अन्य देशमा बस्ने नेपालीका लागि के फरक हुन्छ?
नर्वे वा अन्य कुनै पनि विदेशी मुलुकमा बसोबास गरिरहेका नेपाली नागरिकहरूले पनि कार्यक्रमका सर्तहरू पूरा गरेको खण्डमा निर्धक्क आवेदन दिन सक्छन्। यो अवसर नेपालबाट मात्रै आवेदन दिने व्यक्तिहरूमा सीमित छैन ।
तर, आफू हाल बसिरहेको देश र कार्यक्रमको अध्ययन हुने देशहरूबीचको नियम भने राम्ररी जाँच्नुपर्छ। उदाहरणका लागि, Mundus MAPP अन्तर्गत अनिवार्य रूपमा दुई फरक देशहरूमा अध्ययन गर्नुपर्ने हुन्छ र ती देशहरू तपाईंले आवेदन दिने वा भर्ना हुने समयमा बसिरहेको देशभन्दा फरक हुनुपर्ने सर्त राखिएको छ ।
अहिले नै के गर्ने? (तयारीका चरणहरू)
आवेदनको तयारीलाई सहज र व्यवस्थित बनाउन निम्न चरणहरू अपनाउनुहोस्:
- आफ्नो शैक्षिक पृष्ठभूमि र रुचिसँग मिल्ने केही सम्भावित कार्यक्रमहरू छान्नुहोस्।
- छनोट गरिएका प्रत्येक कार्यक्रमको योग्यता र छात्रवृत्तिको अन्तिम म्याद टिप्नुहोस्।
- आवश्यक शैक्षिक प्रमाणपत्र, ट्रान्सक्रिप्ट र CV अद्यावधिक गरी तयार राख्नुहोस्।
- अंग्रेजी भाषा परीक्षा आवश्यक भएमा समयमै तयारी गरी परीक्षाको मिति तय गर्नुहोस्।
- आफ्ना सिफारिसकर्ताहरूसँग सिफारिसपत्रका लागि पहिल्यै कुरा गरेर राख्नुहोस्।
- प्रत्येक कार्यक्रमको माग र सर्तअनुसार उद्देश्यपत्र तयार गर्नुहोस्।
- अन्तिम दिनको हतारो नकुरी समयमै आवेदन बुझाउने लक्ष्य राख्नुहोस्।
Responsible Public Agency:
European Education and Culture Executive Agency (EACEA), European Commission।
(विद्यार्थी छनोट सम्बन्धित कार्यक्रम सञ्चालन गर्ने विश्वविद्यालय समूहले गर्छ।)
- आफ्नो विषयअनुसार कार्यक्रम खोज्ने आधिकारिक सूची
- Mundus MAPP को २०२७–२०२९ आवेदन तालिका
- छात्रवृत्तिसम्बन्धी ठगीबाट बच्ने आधिकारिक सूचना
