पूर्वी नर्वेका केही क्षेत्रमा आइतबार ठूलो पानी र तेज हावा आउने चेतावनी दिइएको छ। तेलेमार्क (Telemark), बुस्केरु (Buskerud), भेस्तफोल (Vestfold) र ओस्लो (Oslo) को पश्चिमतर्फ बाढीका लागि अरेन्ज तथा पहिरोका लागि पहेँलो तहको चेतावनी जारी गरिएको छ।
बेलायतबाट नर्वेतर्फ आइरहेको बोएलो (Boelo) नामको आँधीको प्रभाव शनिबार रातिदेखि देखिन थाल्ने अनुमान गरिएको छ। यसका कारण नर्वेको पूर्वी क्षेत्रमा आइतबार ठूलो पानी पर्नुका साथै तेज हावा चल्ने चेतावनी दिइएको हो।
यी क्षेत्रहरूमा बाढीको जोखिम बढेको जनाउँदै नर्वेको जलस्रोत तथा ऊर्जा निर्देशनालय NVE ले ओरेन्ज तहको बाढी चेतावनी जारी गरेको छ।
छोटो समयमा धेरै पानी पर्न सक्ने
मौसम पूर्वानुमानअनुसार प्रभावित क्षेत्रमा १२ घण्टाभित्र ४० देखि ६० मिलिमिटरसम्म पानी पर्न सक्छ। केही खोला र नदीमा यसअघि नै पानीको बहाव बढेको अवस्थामा थप वर्षा भएपछि पानीको सतह तीव्र रूपमा बढ्न सक्ने एनभेए (NVE) ले जनाएको छ।
ठूलो पानीका कारण खोला तथा नदी आसपासका क्षेत्रमा बाढी आउन सक्ने, सडक र होचा ठाउँमा पानी जम्नुका साथै नदी किनारको जमिन कटान हुने जोखिम रहेको छ। बाढी र पहिरोको यो चेतावनी आइतबार बिहानदेखि लागू हुने र साँझतिर मौसम बिस्तारै सुधार हुँदै जाने अनुमान छ।
अघिल्लो वर्षको एमी (Amy) जस्तो अवस्था नआउने अनुमान
यसपटकको आँधी अघिल्लो वर्ष दक्षिणी नर्वेमा ठूलो क्षति पुर्याएको एमी (Amy) जत्तिकै शक्तिशाली हुने अनुमान भने गरिएको छैन। यद्यपि, छोटो समयमा धेरै पानी पर्न सक्ने भएकाले बाढी र पहिरोको जोखिमलाई गम्भीर रूपमा लिनुपर्ने अधिकारीहरूले बताएका छन्।
अक्टोबर २०२५ मा आएको एमी (Amy) का कारण दक्षिणी नर्वेका विभिन्न क्षेत्रमा रूख ढल्नुका साथै सडक बन्द भएका थिए र विद्युत् आपूर्तिमा समस्या आएको थियो। त्यतिबेला भेस्तफोल र तेलेमार्क लगायतका क्षेत्रमा ठूलो पानी र शक्तिशाली हावा मापन गरिएको थियो।
पूर्व तयारी र सतर्कता अपनाउन आग्रह
NVE ले ठूलो पानी पर्नुअघि नै घर वरपरका नाली, पानी बग्ने पाइप र ढल सफा गर्न सुझाव दिएको छ। पात, हाँगा वा फोहोरले पानी बग्ने बाटो रोकिएमा घर तथा सडक आसपास पानी जम्न सक्ने भएकाले समयमै ध्यान पुर्याउनुपर्ने हुन्छ।
हावाले उडाउन सक्ने सामान बाहिर राखिएको छ भने सुरक्षित ठाउँमा राख्न पनि आग्रह गरिएको छ। बाढीको जोखिम भएका सडकमा सवारी चलाउँदा सावधानी अपनाउनुका साथै खोला र नदी नजिक अनावश्यक रूपमा नजानु उचित हुन्छ।
मौसमको अवस्था छिट्टै परिवर्तन हुन सक्ने भएकाले यात्रा गर्नुअघि Yr र Varsom मा आफ्नो क्षेत्रको पछिल्लो चेतावनी जाँच गर्न सुझाव दिइएको छ।
