रानी सोन्यालाई अब नर्वेमा औपचारिक रूपमा ‘Hennes Majestet’ भनेर सम्बोधन गरिने छैन। यद्यपि, उनले ‘Dronning Sonja’ (रानी सोन्या) को उपाधि भने कायम राखेकी छन्।
गत अगस्टको अन्त्यमा राजा हारालको निधनपछि तत्कालीन युवराज होकोनले नर्वेको सिंहासन सम्हालेका थिए। त्यसलगत्तै तत्कालीन युवराज्ञी मेत्ते मारित नर्वेकी नयाँ रानी र राजकुमारी इन्ग्री अलेक्जान्ड्रा युवराज्ञी बनेकी छन्।
राजा परिवर्तन भएसँगै रानी सोन्याको औपचारिक सम्बोधनमा पनि परिवर्तन गरिएको हो। नर्वेजियन राजदरबारले यो निर्णय राजा होकोनले गरेको पुष्टि गरेको छ।
दरबारका सञ्चार प्रमुखको अनुसार, राजा होकोनले नर्वेको राजघरानामा शाही सम्बोधन सीमित रूपमा मात्र प्रयोग गर्ने अभ्यासलाई निरन्तरता दिएका हुन्। अब ‘Deres Majestet’ र ‘Deres Kongelige Høyhet’ जस्ता औपचारिक सम्बोधनहरू राजघराना (Kongehuset) का प्रमुख सदस्यहरूका लागि मात्र प्रयोग गरिनेछ।
राजपरिवारका अन्य सदस्यलाई उनीहरूको उपाधिअनुसार रानी, राजकुमार वा राजकुमारी भनेर सम्बोधन गरिने दरबारले जनाएको छ। त्यसैले रानी सोन्यालाई अझै पनि ‘Dronning Sonja’ भनिनेछ, तर उनको नामअगाडि ‘Hennes Majestet’ प्रयोग गरिने छैन।
अहिले राजघराना (Kongehuset) मा को–को छन्?
दरबारको वेबसाइटअनुसार अहिले नर्वेको औपचारिक राजघराना मा राजा होकोन, रानी मेत्ते मारित र युवराज्ञी इन्ग्री अलेक्जान्ड्रा रहेका छन्। रानी सोन्या भने व्यापक अर्थमा राजपरिवार (Kongefamilien) को सदस्यका रूपमा रहेकी छन्।
यसको अर्थ रानी सोन्या राजपरिवारबाट बाहिरिएकी वा उनले रानीको उपाधि गुमाएकी पक्कै होइनन्। यो परिवर्तन उनका लागि प्रयोग गरिने औपचारिक सम्बोधनमा मात्र सीमित छ। उनले राजदरबारको प्रतिनिधित्व गर्दै आफ्ना औपचारिक जिम्मेवारीहरू निरन्तर निर्वाह गरिरहनेछिन्।
विदेशमा भने ‘Her Majesty Queen Sonja’ नै भनिने
विदेशमा अंग्रेजी भाषा प्रयोग गर्दा भने रानी सोन्यालाई अझै ‘Her Majesty Queen Sonja’ भनेर सम्बोधन गर्न सकिने दरबारले जनाएको छ। विदेशमा शाही उपाधि र सम्बोधन प्रयोग गर्ने परम्परा फरक भएकाले राजा होकोनले अंग्रेजी उपाधिको प्रयोग जारी राख्न स्वीकृति दिएका हुन्।
त्यसैगरी, राजकुमार स्वेरे म्याग्नुस र राजकुमारी मार्था लुइसेलाई विदेशमा अंग्रेजीमा ‘Your Highness’ भनेर सम्बोधन गर्न सकिनेछ।
यो परिवर्तनपछि नर्वेमा दुई जना रानी भए पनि ‘Hennes Majestet’ सम्बोधन नयाँ रानी मेत्ते मारितका लागि मात्र प्रयोग हुनेछ। रानी सोन्या भने आफ्नो रानीको उपाधिसहित औपचारिक जिम्मेवारीमा सक्रिय नै रहनेछिन्।
