नर्वेमा घर किन्न वा भाडामा लिन खोज्दा विज्ञापनमा उल्लेख गरिएको बेडरुमको संख्या मात्र हेरेर निर्णय गर्नु पर्याप्त नहुन सक्छ। नर्वेको उपभोक्ता नियमन निकाय (Forbrukertilsynet) ले जाँच गरेका ४०० वटा घर बिक्रीका विज्ञापनमध्ये ४० वटामा स्वीकृतभन्दा बढी बेडरुम उल्लेख गरिएको पाइएको छ।
यो जाँच बिक्रीमा राखिएका आवासीय घर र हित्तेका विज्ञापनमा गरिएको थियो। यसमा भाडाका विज्ञापन समावेश नभए पनि, स्वीकृत नभएका वा बनिनसकेका कोठालाई बेडरुमका रूपमा प्रस्तुत गर्ने प्रवृत्ति घर किन्ने र भाडामा बस्ने दुवै पक्षका लागि महत्त्वपूर्ण विषय हो।
यो पनि पढ्नुहोस्नर्वेमा घर भाडामा लिँदै हुनुहुन्छ? यी महत्त्वपूर्ण कुराहरू कहिल्यै नबिर्सनुहोस्४०० विज्ञापनमध्ये ४० वटामा त्रुटि
निकायले सन् २०२६ को जनवरीमा नर्वेका १० ठूला घरजग्गा कारोबार कम्पनीका विज्ञापन जाँच गरेको थियो। प्रत्येक कम्पनीबाट २० वटा घर र २० वटा हित्तेका विज्ञापन छानिएका थिए। कुल ४०० विज्ञापनमध्ये ४० वटामा वास्तवमा उपलब्ध र स्वीकृत बेडरुमभन्दा बढी संख्या उल्लेख गरिएको थियो। जाँचमा समावेश सबै १० कम्पनीका कुनै न कुनै विज्ञापनमा यस्तो त्रुटि भेटिएको थियो।
Forbrukertilsynet का अनुसार भविष्यमा बनाउन सकिने, बनिनसकेका वा स्थायी बसोबासका लागि स्वीकृत नभएका स्टोरेज कोठाहरूलाई विज्ञापनमा बेडरुमको कुल संख्याभित्र राख्न मिल्दैन।
प्रयोग भइरहेको आधारमा मात्र स्वीकृत बेडरुम हुँदैन
कुनै कोठामा ओछ्यान राखिएको छ वा त्यसलाई हाल सुत्ने कोठाका रूपमा प्रयोग गरिएको छ भन्दैमा त्यो कानुनी रूपमा स्वीकृत बेडरुम हुँदैन। बिक्री विज्ञापनमा बेडरुमको संख्या उल्लेख गर्दा स्थायी बसोबासका लागि स्वीकृत भएका र विज्ञापन प्रकाशित हुँदासम्म वास्तवमै बनिसकेका कोठा मात्र गन्न पाइन्छ। यो नियम घर खोज्ने वेबसाइटहरूमा बेडरुमको संख्या छान्न प्रयोग गरिने फिल्टरमा पनि लागू हुन्छ।
घरजग्गा कारोबार गर्ने प्रतिनिधिले कोमुने बाट स्वीकृत भवनको नक्सा प्राप्त गरी कुन कोठा बेडरुमका रूपमा स्वीकृत छ भनेर जाँच गर्नुपर्ने हुन्छ। उदाहरणका लागि, कुनै घरमा चारवटा कोठा सुत्ने कोठाका रूपमा प्रयोग भइरहेको भए पनि तीनवटा मात्र स्वीकृत छन् भने विज्ञापनमा तीनवटा बेडरुम मात्र उल्लेख गर्न पाइन्छ। चौथो कोठाबारे विस्तृत विवरणमा जानकारी दिन सकिन्छ, तर त्यसलाई स्वीकृत बेडरुमका रूपमा प्रस्तुत गर्न मिल्दैन।
भाडामा घर वा कोठा लिनेले पनि ध्यान दिनुपर्ने
यो अनुसन्धान बिक्री विज्ञापनमा केन्द्रित भए पनि भाडामा घर, फ्ल्याट वा कोठा लिने व्यक्तिले पनि कोठाको कानुनी स्वीकृतिबारे ध्यान दिनुपर्छ। विशेषगरी बेसमेन्ट, बुइँगल, स्टोरेज वा पछि सुत्ने कोठामा परिवर्तन गरिएको ठाउँ भाडामा लिनुअघि त्यो बसोबासका लागि उपयुक्त र स्वीकृत छ कि छैन भनेर घरधनीसँग बुझ्नुपर्छ।
कोठाको स्वीकृतिबारे स्पष्ट जानकारी नभएमा घरधनीसँग लिखित जवाफ माग्न वा आवश्यक परे कोमुनेसँग भवनको नक्सा र कोठाको स्वीकृत प्रयोगबारे बुझ्न सकिन्छ।
नर्वेको उपभोक्ता परिषद् (Forbrukerrådet) ले घर भाडामा लिँदा सधैँ लिखित सम्झौता गर्न सिफारिस गरेको छ। सम्झौतामा घर वा कोठाको प्रकार, कोठाको संख्या र अन्य अवस्थाबारे स्पष्ट रूपमा खुलाउँदा पछि उत्पन्न हुन सक्ने धेरै विवादहरू रोक्न सकिन्छ।
भ्रामक विज्ञापन गैरकानुनी हुन सक्छ बेडरुमको संख्याले घरको मूल्य तथा उपभोक्ताको निर्णयमा सोझो प्रभाव पार्छ। वास्तविकताभन्दा बढी बेडरुम देखाउँदा उपभोक्ताले गलत आर्थिक निर्णय गर्न सक्ने भएकाले यस्तो कार्यलाई गैरकानुनी बजारीकरण मान्न सकिन्छ।
घर किन्न वा भाडामा लिनुअघि के जाँच्ने?
- विज्ञापनमा लेखिएको बेडरुमको संख्या घरको वास्तविक अवस्था र स्वीकृतिसँग मिल्छ कि मिल्दैन यकिन गर्ने।
- बेसमेन्ट, बुइँगल वा स्टोरेजलाई बेडरुमका रूपमा देखाइएको भए त्यसको कानुनी स्वीकृतिबारे सोध्ने।
- आवश्यक परे कोमुनेबाट स्वीकृत भवनको नक्सा जाँच्ने।
- कोठाबाट आपत्कालीन अवस्थामा सुरक्षित रूपमा बाहिर निस्कन मिल्ने/नमिल्ने जाँच गर्ने।
- भाडामा लिँदा कोठाको संख्या, प्रयोग र अवस्थाबारे लिखित सम्झौतामा स्पष्ट रूपमा खुलाउने।
- विज्ञापन र वास्तविक अवस्थाबीच फरक भेटिएमा घरजग्गा कारोबार गर्ने प्रतिनिधि वा घरधनीसँग लिखित स्पष्टीकरण माग्ने।
