नेपालका उद्योगपति विनोद चौधरीको व्यावसायिक समूह (CG Corp Global) र नर्वेजियन कार व्यवसायी एन्द्रे ओसे योनसेन (Endre Aase Johnsen) ले नर्वेको भेस्तलान (Vestland) क्षेत्रमा इलेक्ट्रिक गाडी निर्माता BYD को बिक्री विस्तार गर्न संयुक्त कम्पनी खोल्ने भएका छन्।
नयाँ कम्पनीमा चौधरी पक्षको ५५ प्रतिशत र योनसेनको ४५ प्रतिशत स्वामित्व रहनेछ। चौधरी पक्षको ५५ प्रतिशत हिस्सामध्ये चार प्रतिशत उनका एक प्रमुख सहयोगीको नाममा राखिनेछ। ती सहयोगीको नाम भने सार्वजनिक गरिएको छैन। कम्पनीको दैनिक नेतृत्व योनसेनले गर्नेछन्।
सुरुमा दुवै पक्षले नर्वेमा BYD को एउटै व्यावसायिक अवसरमा रुचि देखाएका थिए। तर, प्रतिस्पर्धा गर्नुको सट्टा मिलेर अघि बढ्दा अन्तर्राष्ट्रिय अनुभव र स्थानीय बजारको ज्ञानलाई एउटै कम्पनीमा जोड्न सकिने निष्कर्षमा उनीहरू पुगेका हुन्।
तीन करोड क्रोनरसम्म लगानी आवश्यक
योनसेनका अनुसार यो नयाँ व्यवसाय सुरु गर्न तीन करोड नर्वेजियन क्रोनरसम्म पूँजी आवश्यक पर्न सक्छ। उक्त रकम गाडी खरिद गर्न, बिक्रीस्थल तयार पार्न र भविष्यमा स्थायी कार केन्द्र निर्माण गर्न प्रयोग गरिनेछ।
यस सम्झौताले नर्वेको सम्पूर्ण भेस्तलान (Vestland) क्षेत्र समेट्छ र कम्पनीले यस क्षेत्रमा BYD का थप व्यावसायिक अवसरमा पनि चासो राखेको छ।कम्पनीको पहिलो बिक्रीस्थल बेर्गेन (Bergen) बाहिर ओसाने (Åsane) मा रहेको थोन-सेन्तेरे (Thon-senteret) नजिक खोलिनेछ।
करिब १,३०० वर्गमिटर क्षेत्रफल भएको उक्त स्थानमा गाडीको शो-रुम हुनेछ भने भवनको तल्लो भागलाई गाडी तयार पार्ने काममा प्रयोग गरिनेछ। कम्पनीले नोभेम्बरको मध्यदेखि ग्राहकलाई गाडी हस्तान्तरण सुरु गर्ने र नयाँ वर्षअघि १०० वटा गाडी बिक्री गर्ने लक्ष्य राखेको छ।
ठूलो स्थायी केन्द्र बनाउने योजना
यो अस्थायी बिक्रीस्थल अक्टोबर २०२७ सम्म प्रयोग गर्ने योजना रहेको छ। त्यसपछि कम्पनीले करिब ३,३०० वर्गमिटरको स्थायी कार केन्द्र बनाउने तयारी गरेको छ, जहाँ पूर्ण सुविधासहितको वर्कसप पनि हुनेछ। योजनाअनुसार स्थायी केन्द्रको निर्माण मार्च २०२७ मा सुरु भएर दुईदेखि तीन महिनाभित्र सम्पन्न हुनेछ।
नयाँ कम्पनीले भेस्तलानको कार बजारमा BYD को हिस्सा १० प्रतिशतसम्म पुर्याउने महत्त्वाकांक्षा राखेको छ। दीर्घकालमा BYD लाई यस क्षेत्रका तीन ठूला कार ब्रान्डमध्ये एक बनाउने लक्ष्य रहेको योनसेनले बताएका छन्।
कम्पनीले विशेष गरी BYD का Sealion 7 र Atto 3 मोडेलबाट बिक्री बढ्ने अपेक्षा गरेको छ भने अर्को वर्ष सात सिट भएको Atto 8 पनि बजारमा ल्याउने योजना छ।
चौधरी पक्षबाट पूँजीसँगै अन्तर्राष्ट्रिय अनुभव
यस सहकार्यमा चौधरी पक्षको भूमिका केवल लगानी उपलब्ध गराउनेमा सीमित रहने छैन। योनसेनका अनुसार चौधरी समूहअन्तर्गतको सिजी मोटर्स (CG Motors) युरोपका १२ देशमा BYD को व्यवसायमा संलग्न छ र पूर्वी युरोपका केही बजारमा आयातकर्ताको भूमिकामा पनि छ।
नयाँ कम्पनीले यही अन्तर्राष्ट्रिय डिलर सञ्जाल, अनुभव र व्यावसायिक परामर्शबाट लाभ लिने अपेक्षा गरिएको छ, जबकि नर्वेको स्थानीय व्यवसाय र दैनिक सञ्चालनको जिम्मेवारी योनसेनले सम्हाल्नेछन्।
साझेदारीअघि परिवारसँग भेट
व्यावसायिक सहकार्यलाई अन्तिम रूप दिनुअघि चौधरीले योनसेन र उनका परिवारलाई व्यक्तिगत रूपमा भेटेका थिए। ओस्लोको एक होटलमा पहिलो व्यावसायिक भेट भएपछि चौधरी बेर्गेन स्थित योनसेनको घर पुगेका थिए। त्यहाँ परिवारसँग भेटघाट र निजी रात्रिभोज भएपछि मात्र सहकार्यलाई अगाडि बढाउने निर्णय भएको थियो।
योनसेनले यो पारिवारिक भेट चौधरीका लागि निकै महत्त्वपूर्ण रहेको बताएका छन्।
