NTNU मा प्रथम वर्षमा अध्ययनरत १६० जना विद्यार्थीहरूमा गरिएको एक नयाँ अध्ययनले पढाइमा कृत्रिम बुद्धिमत्ता (AI) को अत्यधिक प्रयोग र कमजोर परीक्षा नतिजाबीच सम्बन्ध रहेको देखाएको छ।एनआरको (NRK) को रिपोर्टअनुसार, एआईलाई आफ्नो पहिलो विकल्प बनाउने र यसमा पूर्ण रूपमा निर्भर हुने विद्यार्थीहरूको नतिजा अन्य विद्यार्थीको तुलनामा खस्किएको पाइएको हो।
अध्ययनमा सहभागीमध्ये १३ प्रतिशत विद्यार्थीले उच्च स्तरमा एआई प्रयोग गर्ने, ७४ प्रतिशतले कम मात्रामा र बाँकी १३ प्रतिशतले जेनेरेटिभ एआईको प्रयोग नै नगर्ने बताएका थिए।
नतिजा विश्लेषण गर्दा, एआई धेरै प्रयोग गर्ने विद्यार्थीको औसत ग्रेड ३.२ अर्थात् 'D', कम प्रयोग गर्नेको ४.२ अर्थात् 'C' र प्रयोग नै नगर्नेको औसत ५.१ अर्थात् 'B' रहेको थियो। विद्यार्थीको पारिवारिक पृष्ठभूमि र प्रोग्रामिङ क्षमताजस्ता अन्य पक्षलाई विचार गर्दा पनि एआईमा बढी निर्भर रहने समूह, प्रयोग नगर्नेभन्दा १.४ ग्रेड पोइन्टले पछाडि परेको तथ्याङ्कले देखाएको छ।
यति हुँदाहुँदै पनि, अध्ययनको नेतृत्व गरेका NTNU का एसोसिएट प्रोफेसर तोमास ओस्तेर्लिए (Thomas Østerlie) ले एआईको प्रयोगकै कारण नतिजा बिग्रिएको भनेर ठोस निष्कर्ष निकाल्न हतार गर्न नहुने स्पष्ट पारेका छन्।
यो अध्ययनले केवल दुई कुराबीचको सम्बन्धलाई देखाएको हो, कारण र परिणामलाई होइन। पढाइमा पहिलेदेखि नै कठिनाइ भोगिरहेका विद्यार्थीहरू नै थप सहयोगका लागि एआईमा बढी निर्भर भएको सम्भावना पनि उत्तिकै रहन्छ।
सन् २०२२ पछि प्रोग्रामिङ विषयहरूमा विद्यार्थीको समग्र ग्रेड उल्लेखनीय रूपमा घटेपछि यो अनुसन्धान सुरु गरिएको थियो। एआईले केही सेकेन्डमै उत्तर र कोडहरू दिन सक्ने हुनाले छिटो काम सक्ने होडमा विद्यार्थीले वास्तविक सिकाइको कठिन तर महत्त्वपूर्ण प्रक्रिया भने छुटाउन सक्ने चिन्ता यस अध्ययनले औंल्याएको छ।
यसका साथै, विद्यार्थीका लागि एआई राम्रो कि नराम्रो भन्ने विषय त्यति सरल भने छैन। सन् २०२५ को एउटा मेटा-अध्ययनले शैक्षिक उपलब्धिमा एआईको समग्र सकारात्मक प्रभाव देखाएको थियो भने गणितसम्बन्धी अर्को अध्ययनले नकारात्मक असर पार्न सक्ने सम्भावना देखाएको थियो।
त्यसैले मुख्य कुरा विद्यार्थीले एआईलाई सिकाइको सहयोगी साधनका रूपमा उपयोग गर्छन् वा आफ्नै सोच र मेहेनतको विकल्प बनाउँछन् भन्ने हो। NTNU का रेक्टर तुर ग्रान्ने (Tor Grande) ले एआई अब सधैं रहिरहने प्रविधि भए पनि ज्ञान हासिल गर्न, विवेक प्रयोग गर्न र आलोचनात्मक सोच विकास गर्न कुनै पनि प्राविधिक छोटो बाटो नहुने कुरामा जोड दिएका छन्।
हालसम्म वैज्ञानिक जर्नलमा प्रकाशित भइनसकेको भए तापनि, यस अध्ययनले आफूले गर्नुपर्ने सोच्ने र सिक्ने काम नै एआईलाई सुम्पिँदा त्यसको उल्टो असर पर्न सक्ने गम्भीर सन्देश दिएको छ।
