सुरक्षित आश्रयस्थल (Krisesenter): घरमा हिंसा वा धम्की भोग्दा कहाँ र कसरी सहायता पाउने?
घरेलु हिंसा, मानसिक यातना वा धम्कीको सामना गरिरहनुभएको छ भने तपाईं एक्लै हुनुहुन्न। सुरक्षित आश्रयस्थल (Krisesenter) ले महिला, पुरुष र बालबालिका सबैलाई २४ सै घण्टा निःशुल्क र गोप्य रूपमा सहयोग तथा बासस्थान प्रदान गर्दछ। संकटको बेला कहाँ सम्पर्क गर्ने, कस्तो सहयोग पाइन्छ र आफ्ना अधिकारहरू के-के हुन् भन्ने सम्पूर्ण जानकारी ।
घरभित्रको हिंसा सधैँ कुटपिटका रूपमा मात्र देखिँदैन। बारम्बार धम्क्याउने, अपमान गर्ने, पैसा नियन्त्रण गर्ने, मोबाइल जाँच्ने, बाहिर जान नदिने वा परिवार र साथीभाइबाट अलग राख्ने व्यवहार पनि गम्भीर हुन सक्छ।
यस्तो अवस्थामा नर्वेको krisesenter (क्रिसेसेंतेर) बाट निःशुल्क सुरक्षा, सल्लाह र आवश्यक परे अस्थायी बसोबासको सहायता लिन सकिन्छ।
यदि तपाईं वा बच्चाको जीवन वा स्वास्थ्य तत्काल खतरामा छ भने प्रहरीको आपत्कालीन नम्बर 112 मा फोन गर्नुहोस्। घटना तत्काल भइरहेको छैन, तर प्रहरीसँग कुरा गर्नु आवश्यक छ भने 02800 मा सम्पर्क गर्न सकिन्छ।
Krisesenter भनेको के हो र यो कसका लागि हो?
Krisesenter हिंसा, दुर्व्यवहार वा हिंसाको धम्की भोगिरहेका महिला, पुरुष र बालबालिकाका लागि सुरक्षित सहायता सेवा हो। नर्वेभरिका सबै कोमुनेले यो सेवा उपलब्ध गराउनुपर्छ। केही कोमुनेले आफ्नै krisesenter सञ्चालन गर्छन् भने कतिपयले अन्य कोमुनेसँग मिलेर साझा सेवा उपलब्ध गराउँछन्।
यो पुलिस स्टेसन, अस्पताल वा जेल होइन। यहाँ हिंसा र दुर्व्यवहारसम्बन्धी अवस्थासँग काम गर्ने ज्ञान तथा अनुभव भएका कर्मचारी हुन्छन्। उनीहरूले तपाईंको कुरा सुन्छन्, अवस्था बुझ्न सहयोग गर्छन् र तपाईंका लागि उपलब्ध विकल्पहरूबारे जानकारी दिन्छन्।
Krisesenter ले सुरक्षित अस्थायी बसोबास मात्र उपलब्ध गराउँदैन। यहाँ व्यक्तिगत कुराकानी, आफ्ना अधिकार र सम्भावनाबारे जानकारी, आवश्यक सेवासँग सम्पर्क गर्न सहयोग र krisesenter छोडेपछि नयाँ जीवन सुरु गर्ने क्रममा फलोअप पनि पाउन सकिन्छ।
सहायता मागेपछि के गर्ने भन्ने निर्णय सामान्यतया तपाईं आफैँले गर्न सक्नुहुन्छ। तर तपाईं वा अरू कसैको जीवन र स्वास्थ्यमा गम्भीर खतरा भएको अवस्था अथवा बच्चाको सुरक्षासम्बन्धी कानुनी जिम्मेवारी लागू हुने अवस्थामा कर्मचारीले आवश्यक निकायलाई जानकारी दिनुपर्ने हुन सक्छ।
Krisesenter महिला मात्रका लागि होइन। महिला, पुरुष र बालबालिका सबैले सहायता पाउन सक्छन्। कानुनअनुसार महिला र पुरुषका लागि उपलब्ध गराइने बस्ने ठाउँ भौतिक रूपमा छुट्टाछुट्टै हुनुपर्छ।
हिंसा गर्ने व्यक्ति श्रीमान्, श्रीमती वा सँगै बस्ने पार्टनर मात्र हुँदैन। पहिलेको पार्टनर, आमाबुबा, वयस्क सन्तान, दाजुभाइ, दिदीबहिनी, ससुराली पक्षका सदस्य वा अन्य नजिकका आफन्तबाट पनि हिंसा, धम्की वा नियन्त्रण हुन सक्छ।
कुटपिट नभए पनि सहायता माग्न सकिन्छ
Krisesenter बाट सहायता लिन शरीरमा चोट लागेकै हुनुपर्छ भन्ने छैन।
कुट्ने, धकेल्ने, घाँटी थिच्ने, चिथोर्ने वा वस्तु फालेर तर्साउने जस्ता शारीरिक हिंसाबाहेक मानसिक, आर्थिक र डिजिटल हिंसा पनि गम्भीर हुन्छन्।
बारम्बार गाली वा अपमान गर्ने, मार्ने वा बच्चा खोसिदिने धम्की दिने, घरबाहिर जान नदिने, काम वा पढाइ गर्न रोक्ने र परिवार तथा साथीभाइसँग सम्पर्क गर्न नदिने व्यवहार मानसिक हिंसा वा नियन्त्रणको स्वरूप हुन सक्छ।
आफ्नै तलब वा बैंक खातामा पहुँच नदिने, बैंक कार्ड कब्जामा राख्ने, जबर्जस्ती ऋण लिन लगाउने, अर्काको नाममा आर्थिक सम्झौता गर्ने वा सबै खर्चका लागि अनुमति माग्न बाध्य बनाउने व्यवहार आर्थिक हिंसाअन्तर्गत पर्न सक्छ।
मोबाइल, इमेल, BankID वा सामाजिक सञ्जालमा पहुँच राख्ने, पासवर्ड माग्ने, फोन ट्रयाक गर्ने, मेसेज जाँच्ने वा इन्टरनेटमार्फत निरन्तर निगरानी गर्ने व्यवहार डिजिटल हिंसाको स्वरूप हुन सक्छ। नर्वेमा शारीरिक हिंसासँगै मानसिक, आर्थिक र डिजिटल नियन्त्रणलाई पनि हिंसाका रूपका रूपमा व्याख्या गरिएको छ।
यसबाहेक, परिवारको इज्जतका नाममा दबाब दिने, इच्छाविपरीत विवाह गराउन खोज्ने, घरबाहिर जान रोक्ने, बच्चालाई नियन्त्रणको माध्यम बनाउने वा राहदानी र रेसिडेन्ट कार्ड (oppholdskort) कब्जामा राख्ने कार्य पनि गम्भीर हुन सक्छ।
आफूले भोगिरहेको व्यवहारलाई “हिंसा” भन्न मिल्छ कि मिल्दैन भन्ने निश्चित नभए पनि सहायता माग्न सकिन्छ। अवस्था अझै बिग्रिने, शरीरमा चोट लाग्ने वा ज्यानकै खतरा हुने समयसम्म पर्खनु पर्दैन।
सेवा निःशुल्क हुन्छ र त्यहीँ बस्नु अनिवार्य छैन
Krisesenter बाट सहायता लिन त्यहीँ गएर बस्न अनिवार्य छैन। फोन गरेर सल्लाह लिन, दिनको समयमा भेटेर व्यक्तिगत कुराकानी गर्न, आफ्नो अवस्थाबारे विकल्प बुझ्न वा सुरक्षा योजना बनाउन सकिन्छ।
आवश्यक परे कर्मचारीले प्रहरी, NAV, स्वास्थ्य सेवा, UDI, वकिल वा अन्य सहायता सेवासँग सम्पर्क गर्न पनि सहयोग गर्न सक्छन्।
घरमा बसिरहनु असुरक्षित छ वा केही समय सुरक्षित ठाउँमा बस्न आवश्यक छ भने सीमित अवधिका लागि बसोबासको व्यवस्था गर्न सकिन्छ। बसाइ कति लामो हुन्छ भन्ने कुरा व्यक्तिको अवस्था, जोखिम र अगाडिको व्यवस्थामा निर्भर हुन सक्छ।
Krisesenter को सुरक्षित अस्थायी बसोबास र दिनको सहायता सेवा निःशुल्क हुन्छ। यो सेवा लिन फास्तलेगे, NAV वा प्रहरीको रेफरल अथवा अनुमति आवश्यक पर्दैन। पहिले प्रहरीमा उजुरी गरेको वा अग्रिम रूपमा समय लिएको हुनैपर्ने व्यवस्था पनि छैन। तपाईंले krisesenter मा सीधै सम्पर्क गर्न सक्नुहुन्छ।
गोपनीयता र दोभाषे (tolk) को सुविधा
पहिलोपटक सम्पर्क गर्दा आफ्नो नाम नबताई अवस्थाबारे कुरा गर्न सकिन्छ। यसबाट सहायता मागेपछि के हुन सक्छ, सुरक्षित विकल्प के छन् र आवश्यक परे कहाँ जान सकिन्छ भन्ने बुझ्न मद्दत मिल्छ।
Krisesenter का कर्मचारीसँग गोपनीयता कायम राख्ने कानुनी जिम्मेवारी, अर्थात् taushetsplikt, हुन्छ। सामान्य अवस्थामा तपाईंको अनुमतिबिना परिवार, साथीभाइ, समुदाय, रोजगारदाता वा अन्य व्यक्तिलाई तपाईंले सहायता लिएको वा त्यहाँ बसेको जानकारी दिइँदैन।
तर गोपनीयताका केही कानुनी अपवाद हुन्छन्। तपाईं, बच्चा वा अरू कसैको जीवन र स्वास्थ्यमा गम्भीर खतरा भएको अवस्था अथवा बच्चा हिंसा वा गम्भीर उपेक्षामा परेको आशंका हुँदा कर्मचारीले सम्बन्धित निकायलाई जानकारी दिनुपर्ने हुन सक्छ।
यदि तपाईंलाई नर्वेजियन भाषा राम्रो आउँदैन भने krisesenter ले आवश्यकताअनुसार योग्य दोभाषेको व्यवस्था गर्नुपर्छ। यस्तो संवेदनशील अवस्थामा परिवारका सदस्य, चिनजानका व्यक्ति वा बच्चालाई दोभाषेका रूपमा प्रयोग नगर्नु होला। चिनजानका व्यक्तिसामु सबै कुरा भन्न असुरक्षित वा असहज हुन सक्छ, र बच्चालाई अभिभावकको गम्भीर कुरा अनुवाद गर्ने जिम्मेवारी दिनु पनि उपयुक्त हुँदैन।
बच्चासहित जान सकिन्छ? Barnevernet ले के गर्छ?
आवश्यक परे अभिभावक वा हेरचाह गर्ने व्यक्तिले बच्चालाई साथमै लिएर krisesenter जान सक्छन्। त्यहाँ बच्चाका लागि सुरक्षित बसोबास र उमेर तथा आवश्यकताअनुसार हेरचाहको व्यवस्था गर्नुपर्छ। आवश्यक परे बार्नेहागे, स्कुल, स्वास्थ्य सेवा र अन्य सम्बन्धित निकायसँग पनि समन्वय गर्न सकिन्छ।
बच्चा आफैँ कुटपिटमा नपरे पनि घरमा भएको हिंसा देख्नु, सुन्नु वा त्यसको डरमा बाँच्नु बच्चाका लागि गम्भीर हुन सक्छ। सुरक्षाका कारण केही समय बार्नेहागे वा स्कुल जान कठिन हुन सक्छ।
यस्तो अवस्थामा बच्चाको शिक्षा र सुरक्षाबारे krisesenter तथा अन्य सेवासँग मिलेर योजना बनाउन सकिन्छ।
Krisesenter गएकै कारणले बार्नेभेर्नेले बच्चालाई स्वतः अभिभावकबाट अलग गर्दैन। Krisesenter को उद्देश्य हिंसा वा धम्कीमा परेका अभिभावक र बच्चालाई सुरक्षित बनाउनु तथा आवश्यक सहायता उपलब्ध गराउनु हो।
तर बच्चा हिंसामा परेको, घरमा भइरहेको हिंसा देखिरहेको वा गम्भीर जोखिममा रहेको चिन्ता भएमा कर्मचारीले barnevernet लाई जानकारी दिनुपर्ने कानुनी जिम्मेवारी हुन सक्छ।
बार्नेभार्नेसँग सम्पर्क हुनुको अर्थ बच्चा तुरुन्तै लगिन्छ भन्ने होइन। बच्चाको अवस्था, सुरक्षा र परिवारलाई कस्तो सहायता आवश्यक छ भन्ने व्यक्तिगत रूपमा मूल्याङ्कन गरिन्छ।
हिंसाबाट बच्चालाई जोगाउन सहायता माग्नु अभिभावकले बच्चाको हितमा चालेको जिम्मेवार कदम हो।
प्रहरीमा उजुरी गर्नैपर्छ?
Krisesenter बाट सहायता लिन प्रहरीमा उजुरी गरेको हुनैपर्दैन। Krisesenter मा सम्पर्क गर्नु र प्रहरीमा उजुरी गर्नु दुई फरक कुरा हुन्।
तर तपाईंलाई चोट लागेको छ, गम्भीर धम्की दिइएको छ, फेरि हिंसा हुने डर छ वा आफ्नो अथवा बच्चाको ज्यानको डर लागेको छ भने प्रहरीसँग सम्पर्क गर्नुपर्छ। प्रहरीले अवस्थाको जोखिम मूल्याङ्कन गरी आवश्यक सुरक्षा उपायबारे विचार गर्न सक्छ।
तपाईंको सुरक्षा जोखिमको मूल्याङ्कन गरेर प्रहरीले निम्नमध्ये उपयुक्त कदम चाल्न सक्छ:
- नजिक आउन रोक (Besøksforbud): तपाईंको घर वा वरपर आउन कानुनी रूपमै रोक लगाउने।
- सम्पर्क गर्न रोक (Kontaktforbud): फोन, मेसेज वा कुनै पनि माध्यमबाट सम्पर्क गर्न पूर्ण निषेध गर्ने।
- सुरक्षा अलार्म (Mobil voldsalarm): खतरा महसुस हुनेबित्तिकै सीधै प्रहरीलाई खबर गर्न मिल्ने सानो अलार्म दिने।
- पीडकलाई नै ट्र्याक गर्ने अलार्म (Omvendt voldsalarm): पीडकलाई नै इलेक्ट्रोनिक ट्याग (GPS) लगाइदिने, जसले गर्दा ऊ तपाईंको नजिक आएमा प्रहरीले तुरुन्तै थाहा पाउँछ।
- ठेगाना गोप्य राख्ने: तपाईं बस्ने ठाउँको ठेगाना सुरक्षाका दृष्टिकोणले गोप्य राख्ने।
तपाईंको अवस्था कत्तिको गम्भीर छ भन्ने बुझेर प्रहरीले यीमध्ये कुन उपाय लागू गर्ने भनेर निर्णय गर्छ।
आवासीय भिसा वा डिपेन्डेन्ट भिसा श्रीमान्, श्रीमती वा पार्टनरसँग जोडिएको छ भने
कतिपय व्यक्ति आफ्नो oppholdstillatelse श्रीमान्, श्रीमती वा samboer सँग जोडिएको भएकाले सम्बन्ध छोडेमा नर्वेबाट निकालिन्छ कि भन्ने डरमा हिंसा सहेर बस्न सक्छन्।
हिंसा गर्ने व्यक्तिले पनि “सम्बन्ध तोड्यौ भने नर्वेबाट निकालिन्छौ” भनेर धम्क्याउन सक्छ। तर यस्तो धम्कीलाई कानुनी सत्य मान्नु हुँदैन।
पारिवारिक आप्रवासनका आधारमा आवासीय भिसा पाएका र श्रीमान्, श्रीमती वा samboer बाट दुर्व्यवहार भोगेका व्यक्तिले निश्चित सर्त पूरा भएमा आफ्नै स्वतन्त्र निवास अनुमतिका लागि आवेदन दिन सक्छन्।
UDI का अनुसार धम्की, जबर्जस्ती, शारीरिक वा मानसिक हिंसा र व्यक्तिको स्वतन्त्रता रोक्ने व्यवहार यस्तो आवेदनको मूल्याङ्कनमा सान्दर्भिक हुन सक्छ। [udi.no]
यस प्रकारको आवेदनमा शुल्क लाग्दैन र आवेदकको आफ्नै आम्दानी हुनुपर्ने सर्त पनि छैन। तर प्रत्येक व्यक्तिको निवाससम्बन्धी अवस्था फरक हुन्छ।
त्यसैले UDI, प्रहरी, वकिल वा krisesenter बाट आफ्नो अवस्थाअनुसार व्यक्तिगत सल्लाह लिनु महत्त्वपूर्ण हुन्छ।
Krisesenter जाँदा के लैजाने?
सुरक्षित रूपमा सम्भव भएमा राहदानी, oppholdskort, बैंक कार्ड, मोबाइल र चार्जर, आवश्यक औषधि, केही कपडा तथा महत्त्वपूर्ण फोन नम्बर लिएर जान उपयोगी हुन्छ।
बच्चासहित जाँदा बच्चाको राहदानी, औषधि, आवश्यक कपडा र स्वास्थ्यसम्बन्धी कागज पनि लैजान सकिन्छ।
धम्कीपूर्ण सन्देश, इमेल, फोटो वा घटनाको मितिसहितको विवरण सुरक्षित रूपमा राख्न सम्भव छ भने पछि उपयोगी हुन सक्छ। तर प्रमाण वा सामान जुटाउन खोज्दा जोखिम बढ्छ भने त्यसो गर्नु हुँदैन।
सबै सामान लिएर निस्कन नसकेका कारण असुरक्षित घरमा बसिरहनु हुँदैन।
कागजपत्र र सामानभन्दा आफ्नो र बच्चाको जीवन तथा सुरक्षा महत्त्वपूर्ण हुन्छ। आवश्यक सामग्रीको समाधान पछि krisesenter वा अन्य सहायता सेवासँग मिलेर खोज्न सकिन्छ।
मोबाइल र डिजिटल सुरक्षामा ध्यान दिनुहोस्
हिंसा गर्ने व्यक्तिले मोबाइल, इमेल, सामाजिक सञ्जाल वा फोनको स्थानमार्फत निगरानी गरिरहेको हुन सक्छ। माथि उल्लेख गरेझैं मोबाइल वा इन्टरनेट प्रयोग गरेर निगरानी, नियन्त्रण र हैरानी गर्ने व्यवहार पनि डिजिटल हिंसाअन्तर्गत पर्न सक्छ।
सम्भव र सुरक्षित भएमा विश्वासिलो व्यक्तिको फोन प्रयोग गरेर सहायता खोज्न सकिन्छ।
साझा कम्प्युटर, परिवारले प्रयोग गर्ने ट्याब्लेट वा हिंसा गर्ने व्यक्तिको नियन्त्रणमा रहेको मोबाइलबाट संवेदनशील जानकारी खोज्दा सावधानी अपनाउनुपर्छ।
फोनमा location sharing सक्रिय छ कि छैन, इमेल वा BankID को पहुँच अरू कसैसँग छ कि छैन र सामाजिक सञ्जालका खाता अन्य उपकरणमा लगइन छन् कि छैनन् भन्नेबारे विचार गर्नु उपयोगी हुन्छ।
कार, झोला वा अन्य सामानमा ट्र्याकिङ उपकरण राखिएको आशंका छ भने आफैँले हिंसा गर्ने व्यक्तिसँग सामना गर्नुभन्दा प्रहरी वा krisesenter सँग कुरा गर्नु सुरक्षित हुन सक्छ।
तर एक्कासि पासवर्ड परिवर्तन गर्ने, location बन्द गर्ने वा ब्राउजरको इतिहास मेटाउने कामले हिंसा गर्ने व्यक्तिलाई शंका लागेर जोखिम बढाउन पनि सक्छ। आफ्नो अवस्थाअनुसार सुरक्षा योजना बनाउन krisesenter वा प्रहरीसँग सल्लाह लिनु राम्रो हुन्छ।
आफूलाई दोष नदिनुहोस्
हिंसा गर्ने व्यक्तिले “तिम्रै कारण यस्तो भएको हो”, “कसैले तिमीलाई विश्वास गर्दैन”, “प्रहरीमा गयौ भने नर्वेबाट निकालिन्छौ”, “बच्चा खोसिन्छ” वा “तिमीलाई भाषा आउँदैन, कसैले सहयोग गर्दैन” भनेर डर देखाउन सक्छ।
यस्ता भनाइलाई तथ्य नमान्नुहोस्। हिंसाको जिम्मेवारी हिंसा गर्ने व्यक्तिकै हुन्छ। सहायता माग्नु परिवारविरुद्धको कदम होइन।
यो आफ्नो र बच्चाको सुरक्षा सुनिश्चित गर्ने जिम्मेवार कदम हो।
Krisesenter सँग कुरा गर्नुको अर्थ तत्काल सम्बन्ध तोड्नैपर्छ, त्यहीँ गएर बस्नैपर्छ वा प्रहरीमा उजुरी गर्नैपर्छ भन्ने होइन।
पहिले जानकारी लिएर आफ्नो अवस्था र सुरक्षाअनुसार निर्णय गर्न सकिन्छ।
चिनेजानेको व्यक्ति हिंसामा परेको शंका भए
तपाईं आफैँ हिंसामा नपरे पनि परिवारका सदस्य, साथी, छिमेकी वा सहकर्मीको अवस्थाबारे चिन्तित हुनुहुन्छ भने krisesenter वा VO-linjen सँग सम्पर्क गरेर सल्लाह लिन सक्नुहुन्छ।
पीडितका आफन्त र सहायता सेवामा काम गर्ने व्यक्तिले पनि यी सेवाबाट मार्गदर्शन पाउन सक्छन्।
हिंसामा परेको व्यक्तिलाई दबाब दिएर तुरुन्त घर छोड्न लगाउनु सधैँ सुरक्षित नहुन सक्छ। शान्त भएर उसको कुरा सुन्नु, दोष नदिनु र उसले भनेको कुरा गम्भीर रूपमा लिनु महत्त्वपूर्ण हुन्छ। सुरक्षित फोनबाट सहायता सेवामा सम्पर्क गर्न सहयोग गर्न सकिन्छ। तत्काल खतरा छ भने 112 मा फोन गर्नुपर्छ।
सहायता कहाँ पाउने?
112: तपाईं वा बच्चाको जीवन अथवा स्वास्थ्य तत्काल खतरामा हुँदा फोन गर्ने प्रहरीको आपत्कालीन नम्बर हो।
02800: अवस्था तत्काल आपत्कालीन छैन, तर हिंसा, धम्की, सम्भावित उजुरी वा सुरक्षा उपायबारे प्रहरीसँग कुरा गर्न आवश्यक छ भने यस नम्बरमा सम्पर्क गर्न सकिन्छ।
116 006, VO-linjen: हिंसा वा दुर्व्यवहार भोगेका व्यक्ति, उनीहरूका आफन्त र सहायता सेवामा काम गर्ने व्यक्तिका लागि राष्ट्रिय सहायता लाइन हो।
फोन सेवा दिनरात खुला, निःशुल्क र गोप्य हुन्छ। VO-linjen को च्याट सेवा कार्यदिवसमा बिहान 09:00 देखि बेलुका 20:00 बजेसम्म खुला हुन्छ। [volinjen.no]
Dinutvei.no: आफ्नो नजिकको krisesenter र अन्य सहायता सेवा खोज्न यो वेबसाइट प्रयोग गर्न सकिन्छ। आफ्नो कोमुनेको वेबसाइटमा “krisesenter” भनेर खोज्न वा कोमुनेलाई फोन गरेर पनि जानकारी लिन सकिन्छ। [dinutvei.no]
महत्त्वपूर्ण सूचना
यो गाइड सामान्य जानकारीका लागि तयार गरिएको हो। प्रत्येक व्यक्तिको सुरक्षा, परिवार, बच्चा, निवास अनुमति र कानुनी अवस्था फरक हुन सक्छ। व्यक्तिगत निर्णय लिनुअघि krisesenter, प्रहरी, UDI, वकिल वा सम्बन्धित सहायता सेवाबाट आफ्नो अवस्थाअनुसार सल्लाह लिनुहोस्।
तत्काल खतरा भए अनलाइन जानकारी खोजिरहनुभन्दा 112 मा फोन गर्नुहोस्।
थप आधिकारिक लिंकहरू
यो जानकारी कसका लागि हो
- सबैका लागि
फोरम
समुदायका प्रश्न र अनुभवहरू
फोरमका सामग्री सहभागीहरूको आफ्नै अनुभव र विचार हुन्। तिनले आधिकारिक स्रोत वा प्रमाणित मार्गदर्शनलाई प्रतिस्थापन गर्दैनन्।