Justis- og beredskapsdepartementet / Sivilrettsforvaltningenविशेष जानकारी

नर्वेमा निःशुल्क कानुनी सहायता कहाँ र कसरी पाइन्छ?

नर्वेमा कानुनी समस्या परेपछि निजी वकिल राख्नु महँगो हुन सक्छ। तर सबै अवस्थामा कानुनी सहायता लिन ठूलो रकम तिर्नैपर्छ भन्ने होइन। आर्थिक अवस्था, मुद्दाको प्रकार, बसोबासको स्थान र व्यक्तिगत परिस्थितिअनुसार सरकारी खर्चमा कानुनी सहायता वा विभिन्न संस्थाबाट निःशुल्क प्रारम्भिक परामर्श पाउन सकिन्छ।

जिम्मेवार सरकारी निकाय
Justis- og beredskapsdepartementet / Sivilrettsforvaltningen
प्रकाशित मिति
पछिल्लो पटक जाँच गरिएको
अर्को समीक्षा मिति

नर्वेमा कानुनी समस्या पर्दा निजी वकिल राख्नु निकै महँगो हुन सक्छ। तर, सबै अवस्थामा कानुनी सहायता लिन ठूलो रकम तिर्नैपर्छ भन्ने छैन। तपाईंको आर्थिक अवस्था, मुद्दाको प्रकार, बसोबासको स्थान र व्यक्तिगत परिस्थितिअनुसार सरकारी खर्चमा कानुनी सहायता वा विभिन्न संस्थाबाट निःशुल्क प्रारम्भिक परामर्श पाउन सकिन्छ।

यद्यपि, "निःशुल्क कानुनी सहायता" एउटै प्रकारको सेवा होइन। केही सेवाले छोटो परामर्श मात्र दिन्छन्, केहीले पत्र वा सरकारी निर्णय बुझ्न सहयोग गर्छन् भने केहीले निश्चित प्रकारका मुद्दा मात्र लिन्छन्। सरकारी सहायताअन्तर्गत कतिपय व्यक्तिले आफ्नो आर्थिक क्षमताअनुसार खर्चको केही हिस्सा आफैँले तिर्नुपर्ने हुन सक्छ। त्यसैले, तपाईंको समस्या कुन क्षेत्रसँग सम्बन्धित छ भन्ने पहिचान गरेर उपयुक्त संस्थामा सम्पर्क गर्नु नै पहिलो महत्त्वपूर्ण कदम हो।

सरकारी “fri rettshjelp” (निःशुल्क कानुनी सहायता)

नर्वे सरकारले आवश्यक कानुनी सहायता लिन आर्थिक रूपमा कठिनाइ भएका व्यक्तिलाई दिने यो सहयोग विशेष व्यक्तिगत तथा कल्याणकारी महत्त्व भएका निश्चित प्रकारका मुद्दामा मात्र लागू हुन्छ। यसका दुई मुख्य रूप छन्, अदालतबाहिर वकिलबाट पाइने कानुनी परामर्श (Fritt rettsråd) र अदालतमा पुगेको मुद्दामा कानुनी प्रतिनिधित्वका लागि सहायता (Fri sakførsel)। अक्टोबर २०२५ देखि लागू भएको वकिलसम्बन्धी नयाँ व्यवस्थाअनुसार पुरानो छुट्टाछुट्टै आय र सम्पत्तिको सीमाको सट्टा व्यक्तिको समग्र भुक्तानी क्षमता हेर्ने गरिन्छ, जसमा बालबालिकासम्बन्धी खर्च पनि गणनामा समावेश हुन्छ।

सरकारी सहायता पाउँदैमा सबै सेवा पूर्ण रूपमा निःशुल्क हुन्छ भन्ने हुँदैन। व्यक्तिको भुक्तानी क्षमताअनुसार कानुनी खर्चको केही हिस्सा 'egenandel' अर्थात् आफ्नै योगदानका रूपमा तिर्नुपर्ने हुन सक्छ। तर, आर्थिक परीक्षण नलाग्ने मुद्दा वा भुक्तानी क्षमता राष्ट्रिय बीमा योजनाको आधारभूत रकमभन्दा कम भएको अवस्थामा यस्तो योगदान लाग्दैन। कानुनी खर्च बीमा वा ट्रेड युनियनले व्यहोर्न सक्ने भए सामान्यतः पहिले त्यही विकल्प प्रयोग गर्नुपर्छ। आफू योग्य भए वा नभएको प्रारम्भिक जानकारी Sivilrettsforvaltningen को वेबसाइटमा रहेको क्याल्कुलेटरबाट लिन सकिन्छ।

कानुन विद्यार्थी-सञ्चालित कानुनी सेवाहरू (Jussbuss र JURK)

Jussbuss ओस्लो विश्वविद्यालयका कानून विद्यार्थीले सञ्चालन गर्ने संस्था हो। यसले नर्वेभरि बसोबास गर्ने र विदेशमा बसेर नर्वेजियन कानूनसम्बन्धी प्रश्न भएका व्यक्तिलाई रोजगारी, श्रम अधिकार, NAV, सामाजिक सहायता, भाडावालको अधिकार, ऋण, ठगी, अध्यागमन कानून, र कारागारसम्बन्धी अधिकारका विषयमा निःशुल्क सहायता दिन्छ। यसले फोन, व्यक्तिगत भेट वा वेबसाइटको फाराममार्फत मुद्दा स्वीकार गर्छ, तर इमेल वा सामाजिक सञ्जालबाट कानुनी प्रश्न लिँदैन।

यसैगरी, JURK महिलाहरुलाई परिस्थितिअनुकूल कानुनी सहायता प्रदान गर्ने अर्को विद्यार्थी-सञ्चालित संस्था हो। नर्वेभर सेवा दिने यस संस्थाले बालबालिका, परिवार, रोजगारी, भेदभाव, NAV, अध्यागमन, घरभाडा, ऋण र हिंसासम्बन्धी प्रश्नमा सहयोग गर्छ। यदि JURK ले कुनै प्रश्नको उत्तर दिन नसक्ने भएमा उपयुक्त अर्को संस्थातर्फ पठाउने प्रयास गर्छ।

अध्यागमन र शरणार्थीसम्बन्धी सहायता (NOAS र SEIF)

NOAS ले शरणार्थी र शरण आवेदकको कानुनी सुरक्षामा काम गर्छ। यसले UDI वा UNE बाट अस्वीकृत शरण आवेदन, निश्चित पारिवारिक आप्रवासन मुद्दा, स्थायी बसोबास र नागरिकतासम्बन्धी छानिएका मुद्दामा मात्र सहयोग गर्छ। NOAS को सहायता सबै प्रकारका अध्यागमन मुद्दाका लागि उपलब्ध हुँदैन र अगाडि बढाउन आधार देखिएका मुद्दा मात्र संस्थाले लिने गर्छ। यसका लागि भौतिक रूपमा हस्ताक्षर गरिएको अख्तियारीपत्र (fullmakt) आवश्यक पर्छ।

अर्कोतर्फ, SEIF आप्रवासी र शरणार्थीलाई व्यावहारिक मार्गदर्शन गर्ने स्वैच्छिक तथा स्वतन्त्र संस्था हो। यसले NAV, विद्यालय, रोजगारी, बसोबास अनुमति, पारिवारिक पुनर्मिलन, आर्थिक समस्या र जबर्जस्ती विवाहजस्ता समस्यामा सही निकाय पहिचान गर्न र समाधान खोज्न सहयोग गर्छ। ओस्लो, क्रिस्टियानसान्ड, स्टाभाङ्गर, बर्गेन, ओलेसुन्ड र ट्रोनहेममा यसका कार्यालय रहेका छन्।

वकिलसँग निःशुल्क भेट र अन्य विशेष सेवाहरू

Advokatvakten नर्वेजियन बार एसोसिएसनका स्थानीय शाखाले सञ्चालन गर्ने सेवा हो, जहाँ सदस्य वकिलसँग बढीमा ३० मिनेटको निःशुल्क परामर्श लिन सकिन्छ। यसले आफ्नो कानुनी प्रश्न स्पष्ट गर्न, मुद्दा अगाडि बढाउने वा नबढाउने बुझ्न र उचित सेवातर्फ जाने बाटो पत्ता लगाउन सहयोग गर्छ। ओस्लो शाखाले व्यक्तिगत उपस्थितिबाट मात्र परामर्श दिन्छ। त्यस्तै, ओस्लो र आसपासका बासिन्दाका लागि Kontoret for fri rettshjelp ले निःशुल्क वकिल सहायता दिन्छ, जहाँ पूर्वनिर्धारित भेट र 'drop-in' दुवै व्यवस्था छ।

यसबाहेक विशेष परिस्थितिमा अन्य सेवा पनि उपलब्ध छन्। जस्तै, लागूपदार्थसम्बन्धी समस्या भएका वा पहिले यस्तो समस्या भोगेका व्यक्तिलाई Gatejuristen ले निःशुल्क कानुनी सहायता दिन्छ। विद्यार्थी-सञ्चालित विभिन्न सेवाहरूको जानकारीका लागि उनीहरूको साझा पोर्टल पनि प्रयोग गर्न सकिन्छ।

सम्पर्क गर्नुअघि ध्यान दिनुपर्ने कुराहरू

कुनै पनि संस्थामा सम्पर्क गर्नुअघि छोटो तयारी गर्नाले आफ्नो समस्या स्पष्ट रूपमा प्रस्तुत गर्न सहज हुन्छ। समस्याको छोटो विवरण, महत्त्वपूर्ण घटना र मितिको क्रम, सरकारी निर्णय वा पत्र, सम्झौताहरू र उजुरीको प्रमाण साथमा राख्नुहोस्। मूल कागजात तुरुन्त नपठाई संस्थाले मागेको सुरक्षित माध्यम (जस्तै: encrypted email) प्रयोग गर्नु उपयुक्त हुन्छ।

यदि सरकारी निर्णय, घर खाली गर्ने सूचना वा अदालतका कागजातमा जवाफ दिनुपर्ने जरुरी समयसीमा छ भने सुरुमै संस्थालाई बताउनुहोस्। कुनै संस्थाले मुद्दा नलिँदैमा तपाईंको कानुनी दाबी गलत हुँदैन; यो उनीहरूको सेवा क्षेत्र, प्राथमिकता वा क्षमताका कारण हुन सक्छ। त्यस्तो अवस्थामा अर्को उपयुक्त संस्था वा वकिलसँग सम्पर्क गर्न सकिन्छ।

सम्पर्क

सेवाको कार्यक्षेत्र, मुद्दा स्वीकार गर्ने समय र उपलब्धता परिवर्तन हुन सक्छ। सम्पर्क गर्नुअघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइटमा पछिल्लो जानकारी जाँच गर्नुहोस्।

Sivilrettsforvaltningen – Fri rettshjelp
सरकारी कानुनी सहायता पाउन सकिने अवस्था, आवेदन, सम्पर्क विवरण र rettshjelpskalkulator सम्बन्धी जानकारी। सरकारी सहायता सबै मुद्दामा लागू हुँदैन र व्यक्तिको भुक्तानी क्षमताअनुसार आफ्नै योगदान तिर्नुपर्ने हुन सक्छ।
Fri rettshjelp सम्बन्धी सरकारी जानकारी हेर्नुहोस्

Statsforvalteren – Fri rettshjelp
सरकारी fritt rettsråd का लागि Statsforvalteren मा आवेदन दिन सकिन्छ। वेबसाइटमा आर्थिक योग्यता, आफ्नै योगदान र वैकल्पिक सहायता व्यवस्थाबारे पनि जानकारी छ।
Statsforvalteren को Fri rettshjelp पृष्ठ हेर्नुहोस्

Domstol.no – Fri rettshjelp
अदालतमा पुगेका मुद्दामा कानुनी सहायता, आवेदन र योग्यतासम्बन्धी सामान्य जानकारी।
अदालतको Fri rettshjelp जानकारी हेर्नुहोस्

Jussbuss
रोजगारी, NAV तथा सामाजिक अधिकार, trygd, घरभाडा, ऋण, परिचय दुरुपयोग, अध्यागमन र कारागारसम्बन्धी प्रश्नमा निःशुल्क सहायता दिन्छ। Jussbuss ले नर्वेभरिका व्यक्तिबाट मुद्दा स्वीकार गर्छ।
फोन: 22 84 29 00
ठेगाना: Skippergata 23, 0154 Oslo
नयाँ मुद्दा साधारण इमेल वा सामाजिक सञ्जालबाट स्वीकार नगरिने भएकाले फोन, व्यक्तिगत भेट वा आधिकारिक वेबसाइटको फाराम प्रयोग गर्नुहोस्।
Jussbuss को वेबसाइट र हालको सम्पर्क समय हेर्नुहोस्

Advokatvakten
नर्वेका विभिन्न स्थानमा वकिलसँग बढीमा ३० मिनेटको निःशुल्क प्रारम्भिक परामर्श लिन सकिने सेवा। आयोजना हुने दिन र उपलब्धता ठाउँअनुसार फरक हुन्छ।
आफ्नो नजिकको Advokatvakten खोज्नुहोस्

Advokatvakten Oslo
ओस्लोमा सेवा व्यक्तिगत उपस्थितिबाट मात्र उपलब्ध रहेको आधिकारिक पृष्ठले जनाएको छ।
ठेगाना: Skippergata 23, 0154 Oslo
फोन: 22 03 50 50
जानुअघि वेबसाइटमा हालको खुल्ने समय र बिदासम्बन्धी सूचना जाँच गर्नुहोस्।
Advokatvakten Oslo को सम्पर्क जानकारी हेर्नुहोस्

ओस्लो र आसपासका बासिन्दाका लागि

Kontoret for fri rettshjelp
ओस्लो र आसपासका बासिन्दालाई निःशुल्क वकिल सहायता र कानुनी परामर्श प्रदान गर्ने सेवा। पूर्वनिर्धारित भेट र drop-in दुवै व्यवस्था रहेको कार्यालयले जनाएको छ।
फोन: 23 48 79 00
इमेल: frirettshjelp@vel.oslo.kommune.no
ठेगाना: Storgata 19, 0184 Oslo
Kontoret for fri rettshjelp को वेबसाइट हेर्नुहोस्

महिलाका लागि

JURK – Juridisk rådgivning for kvinner
आफूलाई महिला भनेर पहिचान गर्ने व्यक्तिका लागि परिवार, बालबालिका, रोजगारी, भेदभाव, trygd, अध्यागमन, घरभाडा, ऋण, हिंसा र अन्य कानुनी विषयमा निःशुल्क सहायता। सेवा नर्वेभर उपलब्ध रहेको संस्थाले जनाएको छ।
JURK को सम्पर्क समय र सुरक्षित मुद्दा पठाउने माध्यम हेर्नुहोस्

शरण, संरक्षण र अध्यागमनसम्बन्धी सहायता

NOAS – Norsk organisasjon for flyktninger og asylsøkere
शरण, संरक्षण तथा निश्चित प्रकारका पारिवारिक आप्रवासन, स्थायी बसोबास, नागरिकता, assisted return र अनुमति फिर्ता लिने प्रक्रियासम्बन्धी मुद्दामा सहायता दिन्छ। केही मुद्दामा अस्थायी रूपमा नयाँ निवेदन लिन रोक लगाइएको हुन सक्छ।
फोन: 22 36 56 60
ठेगाना: Torggata 22, 0183 Oslo
संवेदनशील कागजात पठाउँदा NOAS को सुरक्षित encrypted email प्रणाली प्रयोग गर्नुहोस्।
NOAS को कानुनी सहायता पृष्ठ हेर्नुहोस्
NOAS को मुख्य वेबसाइट र सम्पर्क जानकारी हेर्नुहोस्

SEIF – Selvhjelp for innvandrere og flyktninger
NAV, विद्यालय, रोजगारी, बसोबास अनुमति, पारिवारिक पुनर्मिलन, आर्थिक कठिनाइ, जबर्जस्ती विवाह तथा इज्जत वा पारिवारिक नियन्त्रणसँग सम्बन्धित समस्यामा जानकारी, मार्गदर्शन र समस्या समाधानमा सहयोग गर्ने संस्था।
फोन: 22 03 48 30
इमेल: seif@seif.no
ओस्लो ठेगाना: C. J. Hambros plass 7, 4. etasje, Oslo
SEIF को आधिकारिक वेबसाइट हेर्नुहोस्

विशेष परिस्थितिका लागि

Gatejuristen Oslo
लागूपदार्थसम्बन्धी समस्या भएका वा पहिले यस्तो समस्या भोगेका व्यक्तिलाई निःशुल्क कानुनी सहायता। Oslo कार्यालयले पूर्वी नर्वेबाट पनि मुद्दा लिने र डिजिटल रूपमा नयाँ मुद्दा पठाउने सुविधा रहेको जनाएको छ।
फोन: 23 10 38 90
ठेगाना: Skippergata 23, 0154 Oslo
Gatejuristen Oslo को सम्पर्क तथा डिजिटल मुद्दा पठाउने पृष्ठ हेर्नुहोस्

विद्यार्थी-सञ्चालित निःशुल्क कानुनी सेवाहरू

नर्वेका चार विद्यार्थी-सञ्चालित कानुनी सहायता संस्थाको साझा वेबसाइटमा आफ्नो स्थान र समस्याअनुसार उपयुक्त सेवा भेट्न सकिन्छ। यी सेवाले निजी व्यक्तिलाई निःशुल्क कानुनी सहायता प्रदान गर्छन्।

आफ्नो समस्याको छोटो विवरण, महत्त्वपूर्ण मिति, प्राप्त पत्र वा निर्णय र सोध्न चाहेको प्रश्न तयार राख्नुहोस्। जवाफ वा उजुरी दिनुपर्ने समयसीमा भए सम्पर्कको सुरुमै भन्नुहोस्। संवेदनशील व्यक्तिगत विवरण वा कागजात साधारण इमेल अथवा सामाजिक सञ्जालबाट नपठाई संस्थाले तोकेको सुरक्षित माध्यम प्रयोग गर्नुहोस्।

यो सम्पर्क सूची १३ अगस्ट २०२६ मा जाँच गरिएको हो। फोन नम्बर, ठेगाना, खुल्ने समय र मुद्दा स्वीकार गर्ने अवस्था परिवर्तन हुन सक्ने भएकाले सम्पर्क गर्नुअघि आधिकारिक वेबसाइट हेर्नुहोस्। यो लेख सामान्य जानकारीका लागि मात्र हो र व्यक्तिगत कानुनी सल्लाह होइन। कुनै संस्थाले सहायता दिन सक्छ कि सक्दैन भन्ने कुरा मुद्दा र क्षमतामा निर्भर हुन्छ

यो जानकारी कसका लागि हो

  • नयाँ आएका व्यक्तिहरू
  • सबैका लागि